आज ४२औँ राष्ट्रिय मगर एकता दिवस, गाेरखामा विभिन्न कार्यक्रम गरी मनाइँदै

-


     मनासलु     
     फागुन १५ गते २०८० मा प्रकाशित


गाेरखा। देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको गाेरखाका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका केन्द्रिय सदस्य विष्णुराना मगरले बताए ।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए ।

उनले भने “विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

गाेरखामा पछिल्लाे समय मगर समुदायका नागरिकहरु राजनीतिमा समेत अग्र स्थानमा देखिएका छन् । जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा मगर, गाेरखा नगरपालिका  मेयर कृष्ण बहादुर राना मगर, शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले सत्ताकाे बागडाेर सम्मालिरहेका छन् । जिल्लाकाे गाेरखा नगरपालिका, शहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिका मगर समुदायकाे वाहुल्यता रहेकाे क्षेत्र हाे ।

आज मगर समुदायले गण्डकी,  शहिदलखन र गाेरखा नगरपालिकामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरेका छन् । विहानै देखि गण्डकी गाउँपालिकामा जिल्ला समन्वय समितिका प्रमुखकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भइरहेकाे छ ।