गाेरखाका सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पुग्याे, विहिबार देखि माध्यमिक शिक्षा परीक्षा (एसईई)

बुधबार, चैत्र १४, २०८०

अभिषेक तामाङ

गाेरखा ।  बिहिबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएकोे छ । परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण, प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै केन्द्रमा पठाउने काम भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवासचन्द्र आचार्यले बताए ।

प्रश्नपत्रहरु र उत्तर पुस्तिकाहरु परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा पुगिसकेकाे छ, केन्द्राध्यक्षहरु आफ्नाे परीक्षा केन्द्रमा पुगेर भाेलिदेखि सुरु हुने परीक्षाकाे पूर्व तयारी गरिरहेका छन् उनले भने ।

यस  वर्ष  गोरखाबाट एक हजार नाै सय १३ जना छात्रा र एक हजार सात सय ४९ जना छात्र गरी तीन हजार ६ सय ६२ जना परीक्षार्थी परिक्षमा सहभागी हुनेछन् ।

साधारणतर्फ तीन हजार ५२७ जना, प्राविधिक तर्फ १०१ र ग्रेडवृद्धिमा ३४ जना परीक्षार्थी सहभागी हुने भएका हुन्। जिल्लाका तीन विद्यालयहरु भवानी मावि मान्वु, त्रिवेणी मावि, सेरा र ज्ञानमार्ग मावि घ्याल्चोकबाट १ सय १ जना विद्यार्थीहरुले प्राविधिक तर्फको एसईई परीक्षा दिनेछन् ।

यो वर्षको आरुघाट गाउँपालिका ३ स्थित देवी जलकुमारीबाट ४ र गोरखा नगरपालिका वडा नम्बर – ८ स्थित सरस्वती मावि आहालेबाट १ गरी जम्मा ५ जना दृष्टिविहिन र गोरखा नगरपालिका वडा नम्बर – १० टक्सार मनकामना बहिरा माविबाट १६ जना बहिरा विद्यार्थीहरु पनि एसईईमामा सहभागी हुने भएका छन् ।