गोरखाको शहिदलनमा आँखा तथा दाँतको निशुल्क स्वास्थ्य शिविर सुरु

-


     मनासलु     
     फागुन १६ गते २०८१ मा प्रकाशित


राजेन्द्र न्याैपाने

१६ फागुन, गोरखा । गोरखा जिल्लाको शहिदलखन गाउँपालिकामा दुइदिने निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ । भगवती हिमालय मा.वि. भूतपूर्व विद्यार्थी समाज र शहिदलखन गाउँपालिकाको सँयुक्त आयोजनामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन सँस्थान विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगँज काठमाण्डौ, आइ केयर फाउण्डेडसन, नेप्लिज सोसाइटी अफ मल्टिडिस्प्लेनरी डेन्टिस्टी, रोटरी क्लव अफ पाटन साउथको प्राविधिक सहयोगमा आज देखि शिविर सुरु भएको हो ।
निशुल्क आँखा तथा दन्त सेवा शिविरको उद्घाटन शहिदलखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले गर्नुभएको थियो ।

शिविरको पहिलो दिन आज आँखाका ४५ जना विरामीको शल्य क्रिया गरिएको छ । २३० जनाको आँखा परीक्षण भएको छ र दाँतका २०२ जना विरामीको उपचार भएको आयोजकका समन्वयकर्ता विद्यार्थी समाजका सदस्य परशुराम पन्तले जानकारी दिनुभयो ।

शहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिकामा रहेका नागरिकहरुले शिविरमा उपचार गराएका छन् । लायन्स क्लव अफ गोरखाले यस अघि आँखाका विरामीहरुको स्कृन गरेको थियो ।

गाउँमै सेवा पाएपछि आफूलाई खुशी लागेको आँखाको अप्रेशन गरी आराम गरिराख्नु भएका बुँकोटका ८० वर्षिय जुनुमाया श्रेष्ठले बताउनुभयो ।

आँखाका विरामीहरुलाई गाउँपालिकाले गाउँगाउँमा पुगेर ल्याउनुका साथै पालिकाको अस्पतालमा खाना र बासको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनुभयो ।

विद्यार्थी समाजका अध्यक्ष गोपालबाबु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दिलिप थापा मगर, आँखा विशेषज्ञ डाक्टर प्रगति गौतम, डाक्टर सुदिन शाक्य, डाक्टर अस्विन श्रेष्ठले शिविरमा प्रदान गरिने सेवाका बारेमा जानकारी गराउनुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन शहिदलखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।