
साँकेतिक तस्वीर
तनहुँ । तनहुँको बन्दिपुरमा शुक्रबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । घुमाउनेबाट धरमपानी हुँदै बाक्से तर्फ आउदै गरेको ग १ ज ६५५५ नं.को जिप हटिया भन्ने ठाउँमा सडकबाट करिब एक सय मिटर तल खस्दा । दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । आेरालाे ठाउँमा राेकेर राखेकाे अवस्थामा जीप पछाडी हट्न गइ सडकबाट तल खसकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुरमा-६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँका २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने, ४८ वर्षिया शुसिलादेवी न्यौपाने, ५० वर्षिया बीमायाँ गुरुङ, ४८ वर्षिया सन्त बहादुर गुरुङ रहेका छन् ।
चार जनाको घटनास्थल मै मृत्यु भएको थियो भने बन्दिपुर अस्पताल ल्याउने क्रममा बाटोमा बीमाया गुरुङ र सोही ठाउँका सन्त बहादुर गुरुङको मृत्यु भएको बन्दिपुर अस्पताल स्रोतले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका ८ जनालाई बन्दिपुर अस्पतालबाट रिफर गरि भरतपुर शिक्षण अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते हुनेमा बन्दिपुर-६ की २१ वर्षीया जमुना थापा, बन्दिपुर-६ हुस्लाङकोट बस्ने ४८ वर्षीया ममकुली गुरुङ, सोही स्थानकी २२ वर्षीया कुमारी गुरुङ, बन्दिपुर-६ वाक्से बस्ने १६ वर्षीया सनिसा थापा, सोही स्थान बस्ने ७ महिनाकी बिबिसा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दान बहादुर थापा र २१ वर्षीय बिपिन थापा रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा परेका १४ जनाको पत्ता लागेको र अन्यको अझै खोजि कार्य भईरहेको बन्दिपुर-६ का वडाअध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका ४ जनाको अवस्था सामान्य रहेको छ । उक्त जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक भने फरार रहेको र खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।






