
असाेज ३१, गाेरखा । गोरखा अस्पतालमा उपचारत नेपाल प्रहरीकी एक जना महिला कर्मचारीको खानेकुरा खाँदा सर्किएर मृत्यु भएको छ ।
गोरखा नगरपालिका ५ सतिपिपल घर भएकी ३१ बर्षिया सुजाता केसीको शनिबार राती खानेकुरा खादाँ सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा सहायक प्रहरी हवल्दारमा कार्यरत केसी केहीदिन देखी बिरामी भएका कारण घरमा बस्दै आउनु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बिरामीले साँझपख खानेकुरा खादाँ सर्किएको र सोही कारण उहाँको ज्यान गएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीलाई खाना सर्किएर असहज भए लगत्तै डाक्टरहरुको टोलीले थप उपचार गरेको भएता पनि उहाँको राती ८ः४५ बजे मृत्यु भएको हो ।
सुरुमा स्वास्थ्य परिक्षणका क्रममा उहाँलाई डेंगु देखिएको थियो । बिरामीको आइतबार (आज) आएको स्वास्थ्य परिक्षणमा मिलिया टिभी अर्थात शरिरभरी टिभी संक्रमण फैलिसकेको देखिएको पनि सूचना अधिकारी ढकालले बताउनुभयो । पारिवारीक स्रोतका अनुसार केसीलाई अस्पताल भर्ना गर्नु अगावै केही दिन पहिलेदेखी ज्वरो आउन थालेको थियो । मृतक केसीको उहाँकै आमाको प्रत्येक्ष निगरानीमा उपचार गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।






