प्रचण्ड प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार

शुक्रबार, कार्तिक १७, २०८०
0
106

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताए । सरकार लागि सरकारले बृहतकार्य योजनाका साथ आउने पनि उनकाे भनाइ छ ।

बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्दै उनले अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएको दाबी गरे । हामी ब्याजदरलाई एकल अंकमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौँ, उनले , विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ । जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ ।

प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गरे। यसैगरी पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उनकाे भनाइ छ ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको उनले जानकारी दिए ।

ुसरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ, उनले भने, ुस्वास्थ्य क्षेत्रमा यस्ता धेरै काम अगाडि बढेका छन् जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।

प्रधानमन्त्री दाहालले निकै ठूलो मिहिनेत र संघर्षको प्रतिफलबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए । उनले संविधानमा गरिएको उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको उल्लेख गरे ।

रूपन्देही क्षेत्रमा मानवसेवामा समर्पित प्रतिष्ठित जापानी डाक्टर सिगेरू सुगानामी सहितका व्यक्तिको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुवैले आमा र बालबालिकाको स्वास्थ्यमा पुर्याएको योगदानको उहाँले प्रशंसा गरे ।

बालबालिका तथा महिलालाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीकोसमेत स्तरीय उपचार गर्नुले अस्पतालको भूमिका महत्वपूर्ण रहेको छ, उनले भने, एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिकस्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धिपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा ९एमाले० संसदीय दलका नेता लीला गिरीले अस्पतालको सेवा राम्रो रहेको बताए । उनले अस्पतालको काम र सेवा प्रवाह पवित्र उद्देश्यका साथ पारदर्शी रूपमा हुनुपर्नेमा जोड दिए ।

नेता गिरीले रुपन्देही जिल्लामा सञ्चालित विकास आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका नागरिकले समस्या भोग्नुपरिरहेको बताउँदै बुटवल–सुनौली ६ लेन बाटो १२ वर्षदेखि निर्माण पूरा हुन नसक्नु, तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बुटवल–नारायणबाट सडक अलपत्र अवस्थामा रहनु, भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्दा कारणले यहाँको आर्थिक क्षेत्र पनि चलायमान हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

मुलुकका समस्या तत्काल समाधान किन गर्न सकिएको छैन यसबाट जनता दुस्खी छन्, उनले भने, ुजनता आत्तिएका छन्, यस्तै कारणले पनि लोकतन्त्रकाविरूद्व र हाम्रा विरूद्व भड्काउने शक्ति सक्रिय बन्न खोजेका छन् ।

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले बाल तथा महिला अस्पताल नमुना अस्पताल, लुम्बिनी प्रदेशमा बालबालिका बचाउने अस्पतालको रूपमा स्थापित भएको र आमा तथा बाल स्वास्थका लागि परिचित रहेको बताए ।

आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आफू बुद्ध धर्मालम्बी भएको र बुद्धका बिचारबाट प्रभावित भएको बताउनुभयो। उहाँले गएराति सपनामा बुद्धलाई देखेको र बुटवलमा स्थापना गरिन लागेको मेडिकल कलेज निर्माणमा नेपालका प्रधानमन्त्रीले खुलेर सहयोग गर्ने बताएको भन्दै प्रधानमन्त्रीलाई सुनाएका थिए ।

उनले आम्दा नेपाल जस्तो संस्था आफ्नो जेठो छोरा जस्तै भएको बताउँदै यहाँ मेडिकल कलेज निर्माण गरेर यसबाट उत्पादिन जनशक्तिले विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here