झरना पराजुलीका ५ मुक्तकहरू

-


     मनासलु     
     भाद्र १७ गते २०७७ मा प्रकाशित


मुक्तक १

खाएकै थालमा थुक्न थालेपछि हो

बन्दुक बोकेर लुक्न थालेपछि हो

नेपालको उच्च शिर झुक्न परेको नै

नेता बन्नेहरु भुक्क थालेपछि हो

मुक्तक २

मोज गरेर नै दिनरात कटाउन खोज्ने

क्षणिक आनन्दलाई माया लगाउन खोज्ने

दुनियाँसँग मस्ती गरेर हिड्नेहरु नै हो

सोझी केटिसँग घरबार बसाउन खोज्ने

मुक्तक ३

बदलिइसकेको छोरोको व्यवहार चिनिएपछि

मायाको बदलामा सधैं घृणा नै घृणा दिएपछि

आमाको मन यसकारणले रोएको हो हजुर

वृद्धआश्रममा आफू घरमा कुकुर पालिएपछि

मुक्तक ४

एउटापछि अर्को अनौपचारिक हुँदा रहेछन्

कहिले पुरानो कहिले आधुनिक हुँदा रहेछन्

कहिल्यै नसकिने दु:ख र पीडाका कुराहरु

जति जीउँदै गयो उति अधिक हुँदा रहेछन्

मुक्तक ५

पराइले पञ्चेबाजा घन्काउन लाग्दा

आमाले पनि मलाई पन्छाउन लाग्दा

त्यो दिनमा म धेरै रोएको थिए हजुर

जन्मघरबाट साँझमा अन्माउन लाग्दा

 

झरना पराजुली

राइनास लमजुङ