अनलाइन कक्षाका सञ्चालनका लागि विद्यार्थीलाई सरकारकाे निःशुल्क इन्टरनेट

-


     मनासलु     
     भाद्र २७ गते २०७७ मा प्रकाशित


भदाै २७ काठमाण्डाै ।

सरकारले आगामी असोज १ गतेदेखि  लागु हुनेगरि विद्यालय र  विद्यार्थीका लागि   निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेकाे सिकाई सहजीकरण निर्देशिकामा  विद्यार्थीलाई निशूल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।

गएकाे भदौ १९ को बसेकाे मन्त्रिस्तरीय निर्णयबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका पारित गरेको थियो । सो निर्देशिकामा  उल्लेख भए अनुसार‘ नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनको लागि मात्र हुने गरी निशूल्क वा सहुलियत शूल्कमा डाटा प्याकेज खरिद गरी  विद्यार्थीलाई निःशूल्क उपलब्ध गराउने  भनिएको छ । 

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तीन वटै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।   

विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको जनगुनासो गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो। यो निर्देशिका आउँदो असोज १ गतेबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा  विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएकाे छ ।