सामाजिक व्यक्तित्व तथा व्यवसायी मास्केको निधन

-


     मनासलु     
     श्रावण ५ गते २०८३ मा प्रकाशित


गाेरखा । सामाजिक व्यक्तित्व तथा व्यवसायी धिरजबहादुर मास्केको निधन भएको छ । विगत एक महिनादेखि विरामी भएका मास्केको ८६ बर्षको उमेरमा सोमबार दिउसो चार बजे मृत्यू भएको उनका आफन्तले जानकारी दिएका छन् ।

विमारले च्यापेपछि मास्केलाई उपचारका लागि आइतबार गोरखा अस्पतालमा भर्ना गरिएको थियो । मास्के गोरखा उद्योग वाणिज्य संघका संस्थापक सचिव, तुलसी मेहेयर युनेस्को क्लव गोरखाका संस्थापक अध्यक्ष हुन् । निर्माण व्यवसायी संघ गोरखाका पूर्व अध्यक्ष, द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष, बालमन्दिर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष समेत भएर काम गरेका थिए ।

जिल्ला पञ्चायत सदस्य समेत बनेका मास्के रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष, लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष, गोरखा जेसिजका पूर्व अध्यक्ष पनि हुन् । उनले गोरखामै पहिलो पटक वि.सं. २०३३ सालमा होटल गोरखा बिसौनी निर्माण गरी हालसम्म पनि सञ्चालन गरिरहेका थिए । अहिले पनि पुरानाे हाेटलकाे नामबाट हाेटल विसाैनी सञ्चालनमा रहेकाे छ । त्यस वाहेक उनी सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका थिए ।