पोखरा ६ भदौ
खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक सङ्घ गठन गरिएको छ ।
प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आवद्ध पर्यटन व्यवसायीहरुको आज पोखरामा भएको भेलाले वसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घ गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षद्धयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा र कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना रहनुभएको छ । यसैगरी सदस्यहरुमा कृषु पौडेल र विजय गौतम हुनुहुन्छ । नेपाल प्याराग्लाइडिङ सङ्घ तथा ह्याडग्लाइडिङ सङ्घ ९नेफा०को आयोजनामा भेला भएको हो ।
नवगठित सङ्घका अध्यक्ष दवाडीले साहशिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहशिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उहाँको माग छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शीर उचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बनाउनुपर्दछ। प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदान लगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ ।”
आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीबाट यस खेलको प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।