नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

आइतवार, असाेज २६, २०८२
0
54

२६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गर्‍यो ।रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो ।

अब उनीमाथि मुख्यगरी तीन वटा कसुरमा अनुसन्धान हुनेछ । जसमा भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँछन् । महरा १० पुस २०७९ मा दुबईबाट हवाईमार्ग हुँदै भेपको स्वरूपमा काठमाडौं भित्रिएर गायब भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक ली हानसोङले २ वटा सुटकेस ल्याएका थिए ।

उक्त सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप थिए । दुई वटा सुटकेस शंकास्पद देखिएपछि जाँच गर्दा भेप देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपको स्वरूपमा सुन भित्रिएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । तर सुन भने भेटिएको थिएन । यही सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भन्दै अहिले महरा पक्राउ परेका हुन् ।यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटेका थिए ।

महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अदालतले उपचार गराउन आदेश दिएको थियो । त्यसपछि सरकारी वकिलसँगको छलफलपछि महरा हाजिरी जमानीमा छुटेका थिए । त्यतिबेला भने महराविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता भएन । महरामाथिको अनुसन्धान फाइल सीआईबीमै रोकिएको थियो । अहिले सोही प्रकरणमा उनी हाजिरी जमानीमा छुटेको दुई वर्षपछि फेरि महरा पक्राउ परेका छन् । एउटै मुद्दामा दोस्रो पटक किन पक्राउ परे भन्ने प्रश्नमा सीआईबीका अधिकारी भने थप केही प्रमाण देखिएको दाबी गर्छन् ।

यसअघि सुन तस्करी जाँचबुझ आयोगले समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएको र केही विषयहरू थप खुलेको दाबी सीआईबीको छ । सुरुवाती अनुसन्धानको क्रममा महरा अनुसन्धानको राडरमा थिएनन् । भन्सारमा रोकिएको सुन छुटाउन फोन गर्दै दबाब दिएको भन्ने विषय सार्वजनिक भएपछि महरालाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग भने महरालाई मुद्दा चलाउनुपर्ने भनेर सिफारिस नै गरेको थियो । १ चैत २०८० आचार्य नेतृत्वको आयोगले प्रतिवेदन बुझाएपछि महरा ५ चैतमा पक्राउ परेका थिए । एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका महराको मुद्दा अब कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ ।

भन्सारले बारमद गरेको भेप लिलामी गरिदिन भन्दै पूर्वसभामुख महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई फोन गरेका थिए । लिलामीबारे छोरा राहुल कुरा गर्न आउने भन्दै ताकेता गरेको भन्सारका कर्मचारीहरूले प्रहरीसमक्ष बताएका थिए । त्यसपछि शंका लागेर हेर्दा भेप साटफेर भइसकेको खुलेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । राजस्वबाट यो सुन तस्करीको अनुसन्धान सीआईबीलाई दिइएको थियो । सीआईबीको अनुसन्धानमा प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वमा आयोग बनाएर भेप र ६० किलो सुनको छानबिन गर्न कार्यादेश दिइएको थियो । त्यसपछि आयोगले कृष्णबहादुर महरा र केही चिनियाँहरूको सुन तस्करीमा लगानी गरेको दाबी गरेको थियो ।

आयोगले चिनियाँ नागरिक दावाजिन वाङले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङको नाममा रहेको डस्टर गाडी सुन तस्करीमा प्रयोग भएको उल्लेख गरेको थियो । पछि उनै गुरुङले महरालाई दिएको आयोगले उल्लेख गरेको थियो ।

छोरा छुटे, बाबु समातिए

महरा मात्रै होइन, यही भेपको सुन तस्करी प्रकरणका उनका छोरा राहुल पनि जोडिएका थिए । १३ भदौ २०८० मा सीआईबीले राहुललाई पक्राउ गरेको थियो ।

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटकपटक टेलिफोन सम्पर्क भएको देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

भेप प्रकरणको पहिलो मुद्दामा राहुल महरा सुन किन्ने समूहमा रहेको खुलेको छ । उनीहरूले कुराकानी गर्ने जी-लिंक च्याटमा राहुल सुन किन्ने समूहमा रहेको देखिएका थिए ।

भन्सार कार्यालयका कर्मचारीहरू मुक्तिप्रसाद श्रेष्ठ र अरुण पोखरेलले आफूहरूलाई राहुल महराले भेप छुटाउन दबाब दिएको भनी मौकाको कागज गरेका थिए । कल डिटेल्स विवरणमा पनि राहुलले भन्सारका कर्मचारीलाई फोन गरेको भेटिएको थियो ।

२६ असोज २०८० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । पछि उनी यो मुद्दामा दोषीसमेत ठहर भए । राहुललाई १४ महिना कैद सजाय सुनाइएको थियो । सजाय भुक्तान गरेर १३ कात्तिक २०८१ मा उनी केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका थिए । छोरा रिहा भएको एक वर्ष पूरा हुनै लाग्दा त्यही मुद्दामा फेरि बाबु कृष्णबहादुर पक्राउ परेका छन् ।

भेप प्रकरणमा सम्पत्ति शुद्धीकरणको पनि मुद्दा

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा सीआईबीले सुरुमा २९ असार २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभ र संगठित अपराधको कसुरमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

नासु खड्कासँगै विमानस्थलका सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी साहेब राव पाण्डुराम मगरले र वेदप्रसाद अग्रवालविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यतिबेला अमृत साधारण तारेखमा रिहा भएका थिए भने बाँकी पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

१६ भदौ २०८१ मा काठमाडौं जिल्ला अदालतले फैसला गर्दै खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यस्तै, वेदप्रकाश र साहेब रावलाई जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो ।

राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो । भेपमार्फत आएको सुन बेचेर जग्गा खरिद गरेको खुलेपछि उक्त जग्गा जफतको फैसला भएको थियो ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले गत पुसमा नासु खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मगरले, राहुल महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । यो मुद्दा अहिले पनि विचाराधीन अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here