पालुङ्टार नगरपालिकाका ४,५८२ विद्यार्थी सामूहिक दुर्घटना विमा

-


     मनासलु     
     असार २४ गते २०८३ मा प्रकाशित



गोरखा । पालुङ्टार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याउने उद्देश्यले पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ।
नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका हुन्।


सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४,५८२ जना विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिनेछ। प्रत्येक विद्यार्थीको रु. ७०,००० सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ भने प्रति विद्यार्थी रु. १०५ बीमा शुल्क र रु. २० टिकट शुल्क निर्धारण गरिएको छ।


सम्झौतामा बीमा दाबीका लागि आवश्यक कागजात, दुर्घटना वा उपचारसम्बन्धी प्रमाण, मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्रलगायत आवश्यक कागजातका आधारमा प्रचलित कानुन र बीमा कम्पनीका नियमअनुसार दाबी भुक्तानी गरिने व्यवस्था गरिएको छ।


नगरपालिकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस कार्यक्रमबाट दुर्घटनामा परेका विद्यार्थी तथा उनका परिवारलाई आवश्यक आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।