वेसी झर्न थाले गोरखाका भेँडिगोठ

शुक्रबार, कार्तिक ९, २०८१
0
128

राजेन्द्र न्यौपाने
९ कार्तिक, गोरखा । वसन्तु रितुसँगै लेक चढेका उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेँडी गोठहरु बेसी र्झन थालेका छन् । यतिबेला बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका म्याम्चे, नागपोखरी वेशी लगायतका क्षेत्रमा भेँडाहरुको वथानले घाँसे मैदान भरिभराउ छन् ।
गोरखाको चुमनुब्री, धार्चे, बारपाक सुलिकोट, अजिरकोट र आरुघाट गाउँपालिकामा किसानहरुले भेँडा पालन गर्दै आएका छन् । गोरखाको माथिल्लो क्षेत्रमा बडुवाल र म्याङ्लुङ र तल्लो क्षेत्रमा काँके जातका भेँडा पालन हुँदै आएको छ ।

भेँडा किसानहरुले मौमसको अवस्था हेरेर भेँडा लेकबाट बेशी झार्ने र बेशीबाट लेकमा लैजाने अवस्थाको निक्र्यौल गर्दछन् ।
गोरखामा एउटा किसानले कम्तिमा तीनसय देखि बढीमा एक हजार दूइसय सम्म भेँडा पालन गर्दै आएका पशुसेवा विज्ञकेन्द्र गोरखाका पशु प्राविधिक सुदिप विश्वकर्माको भनाई छ ।

गोरखामा सबै भन्दा ठूलो भेँडा फार्म चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित पाङसिङमा रहेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा त्यस क्षेत्रमा डिपिङ पोखरी बनाउने, समय समयमा भेँडाहरुको स्वास्थ्य जाँच गर्ने काम भएको किसान सुरेन्द्र गुरुङले बताउनुभयो ।

भेँडाहरु तल्लो क्षेत्रमा झरेसँगै किसानहरुले उन कात्ने गर्दछन् । एउटा भेँडाबाट करिव सातसय ग्राम सम्म उन कात्ने गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का भेँडा किसान रण बहादुर घले बताउनुहुन्छ । आफ्नो फार्ममा आठसय वडा भेँडा रहेको उहाँले बताउनुभयो । ‘यस वर्ष ४० वटा भेँडा विक्री भयो, बथानमा सँख्याहरु तल माथि भइरहन्छ, किसान घलेले भन्नुभयो ।’ भेँडाको विक्री गाउँघरमा नै हुने गरेको छ ।

उनीहरु बख्खु, टोपि, सल, कानेटोपी, राडी, पाखी बनाउन प्रयोग गर्ने गरिएको छ । बनाएका सामग्री गाउँघरमा नै विक्री हुने गरेको छ । विदेशी पर्यटकहरु गाउँमा आइरहने हुनाले उनबाट बनेका सामग्री उनीहरुले पनि लिएर जाने गरेका अर्का किसान लाल बहादुर गुरुङ बताउनुहुन्छ ।

किसानहरुको भेँडीगोठमा गएर निरन्तर उपचार तथा हेरचाह गर्ने गरिएको बारपाक सुलिकोट गाउँपालिका पशु प्राविधिक विरबल गुरुङले बताउनुभयो । भेँडामा निमोनिया, पिपिआर लगायतका रोगहरु लाग्ने गर्दछन् । एउटा भेँडा विक्रीका लागि योग्य बनाउन कम्तिमा तीन वर्ष पाल्नुपर्ने हुन्छ । वर्षमा जेठ/असार र असोज/कार्तिकमा उन कात्ने काम हुन्छ । एउटा फार्मका किसानले वार्षिक ६ देखि १० लाख सम्म आम्दानी गर्ने गरेको प्राविधिक गुरुङको भनाई छ । बारपाक सुलिकोटमा २० गाेठ भेँडाहरु रहेका छन् ।   यस क्षेत्रमा पाँच हजार भन्दा धेरैकाे  सँख्यामा भेँडा रहेको पशु प्राविधिक गुरुङले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here