मनासलु सम्वाददाता
१९ बैशाख, गोरखा । एक महिनाको अवधिमा गोरखाका दुइ वटा सडक कालोपत्रे भएका छन् । जिल्लाको भिमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका जोड्ने घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक खण्डको ८.६३८ किलोमिटर खण्ड र भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ को झिँगटे देखि ठाँटी बजार सम्मको २.७०० किलोमिटर खण्ड गरी ११.३३८ किलोमिटर सडक कालोपत्रे भएको हो ।
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक खण्डको जिम्मा २०७७ साउन १४ गते विरुवा वाइवा एण्ड लामा जेभिले जिम्मा लिएको थियो । कुल २९ करोड ७७ लाख २०,९४६ मा ठेक्का सम्झौता भएको थियो ।
नाली निर्माण, ग्याबियन वाल, मेसेनरी वाल लगाउने काम सम्पन्न भइ अस्फाल्ट प्रविधिको कालोपत्रे गर्ने काम सम्पन्नको चरणमा रहेको इन्जिनियर कपिल काप्रीले बताउनुभयो । सात मिटर चौडा सडकको एक मिटर चौडा नाली रहेको छ ।
झिँगटे ठाँटी सडकको जिम्मा मिर कन्स्ट्रक्सनले लिएको थियो । कुल एक करोड ८० लाखमा ठेक्का पाएको कन्स्ट्रक्सनले अस्फाल्ट प्रविधिको कालोपत्रे अन्तिम चरणमा पुर्याएको गोरखा सडक आयोजनाले जनाएकाे छ ।
हिउँदमा धुलो र वर्षातमा हिलो हुने व्यस्त सडक कालोपत्रे भएपछि यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् । प्रदेश सरकारको योजनामा पुर्वाधार कार्यालय गोरखाले घ्याम्पेसाल ताकुकोट सडक खण्डको काम गरेको हो ।
पछिल्लो एक वर्षमा यस क्षेत्रको सडकमा द्रुत गतिमा काम भएको थियो । प्रदेश सरकारबाट प्राप्त रकम खर्च भइसकेको पुर्वाधार कार्यालय गोरखाले जनाएको छ ।






