
गोरखा, पालुङटार। नेपाल सरकारले हालै जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अन्तर्गत भूमि उपयोग ऐन, २०७६ मा गरिएको संशोधनअनुसार स्थानीय तहलाई एक पटकका लागि भूमि उपयोग परिवर्तन गर्ने अधिकार प्रदान भएपछि पालुङटार नगरपालिकाले सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाको मिति २०८३ असार २१ गते बसेको कार्यपालिका बैठकको निर्णयबमोजिम भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण छुटसम्बन्धी कार्य अगाडि बढाइने भएको हो। अध्यादेशले संशोधन गरेको भूमि उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा (२क) अनुसार स्थानीय भूमि उपयोग परिषद्ले एक पटकका लागि भूमि उपयोग परिवर्तन गर्न सक्ने कानुनी व्यवस्था गरेको छ।
सोही कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले भूमि उपयोग परिवर्तन गर्न इच्छुक नगरवासी तथा सम्बन्धित सरोकारवालालाई आधार, कारण र आवश्यक प्रमाणसहित तीन दिनभित्र नगरपालिकामा निवेदन पेश गर्न सार्वजनिक अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी. द्वारा जारी सूचनामा समयसीमाभित्र प्राप्त निवेदनका आधारमा प्रचलित कानुन र अध्यादेशबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ। नगरपालिकाले सम्बन्धित सबै वडा कार्यालय तथा सरोकारवालालाई सूचना कार्यान्वयनमा सहयोग गर्नसमेत आग्रह गरेको छ।


