
– राजेन्द्र अर्याल
नेपालको एकीकरण अभियानका महान् सेनापति, अदम्य साहस, अद्वितीय रणकौशल र राष्ट्रप्रतिको समर्पणका प्रतीक राष्ट्र विभूति अमरसिंह थापाको ११०औँ स्मृति दिवस यस वर्ष पनि श्रावण १६ गते उहाँको जन्मभूमि गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–६, डाँडेमा श्रद्धापूर्वक मनाइयो। गोरखा अमरसिंह नगर पर्यटन संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यता, संघीय सांसद कबिन्द्र बुर्लाकोटी लगायत जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु , विद्यालयका प्र अ एबम शिक्षकहरु , महिला समुहहरु बुद्धिजीवी, समाजसेवी, विद्यार्थी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच अमरसिंह थापाको जीवन र योगदानमा आधारित कविता वाचन प्रतियोगिता आयोजना गरियो। स्थानीय लाखे नाच, पञ्चेबाजा तथा सांस्कृतिक झाँकीले कार्यक्रमलाई थप जीवन्त बनायो। यसले इतिहासलाई पुस्तान्तरण गर्ने र नयाँ पुस्तामा राष्ट्रिय चेतना जगाउने महत्त्वपूर्ण प्रयासको अनुभूति गरायो।
जन्मस्थलको ऐतिहासिक बहस
केही समययता अमरसिंह थापाको जन्मस्थलबारे विभिन्न दाबीहरू सार्वजनिक भइरहेका छन्। इतिहासमा बहस हुनु स्वाभाविक हो, तर बहस तथ्य, प्रमाण र अनुसन्धानमा आधारित हुनुपर्छ। प्रख्यात इतिहासविद् डा. जगमान गुरुङ, दिनेशराज पन्त लगायतका अनुसन्धानकर्ताले अमरसिंह थापाको जन्म सिरानचोकमै भएको उल्लेख गरेका छन्। यस विषयमा थप अध्ययन र अभिलेखीकरण आवश्यक भए पनि स्थापित इतिहास र उपलब्ध प्रमाणलाई सम्मान गर्नु हाम्रो दायित्व हो।
इतिहास बोकेका भू–नामहरू
अमरसिंह थापाका पिता बाघ भिमसिंह थापा तत्कालीन सिरानचोक राज्यका मुख्तियार रहेको उल्लेख पाइन्छ। स्थानीय जनश्रुति अनुसार विक्रम संवत् १८१२ तिर भिमसिंह थापाको नेतृत्वमा गोर्खाली सेनाले चौबीसे राज्यका सेनालाई सिरानचोक–६ को जाइकटक चौतारोबाट पराजित गर्दै कटुवा भन्ने स्थानसम्म लखेटेको थियो। त्यसै घटनाको सम्झनामा उक्त स्थान आजसम्म पनि “कटुवा” नामले परिचित रहेको स्थानीय विश्वास छ।
स्थानीय अग्रजहरूबाट सुनिँदै आएको अर्को जनश्रुतिअनुसार विजयपछि हाल अमरसिंह पार्क रहेको स्थानमा विजयध्वजा गाडेर उत्सव मनाइएको थियो र त्यसपछि उक्त ध्वजा गोर्खा दरबार लगिएको थियो।
यस्तै, विजयपश्चात् फर्किने क्रममा गोर्खाली सेनाले रात बिताएको स्थान “बाँसपुर” नामले परिचित भएको, “उदिनढुङ्गा” भन्ने स्थानमा सेनाले आफ्ना हतियार उध्याउने गरेकाले त्यसको नाम रहन गएको, र धर्मावती घाटको नाम अमरसिंह थापाकी श्रीमती धर्मावतीसँग सम्बन्धित रहेको स्थानीय जनविश्वास आज पनि जीवित छ। यस्ता भू–नामहरू केवल नाम होइनन्; ती इतिहास, संस्कृति र सामूहिक स्मृतिका जीवित अभिलेख हुन्। यिनको वैज्ञानिक अध्ययन, संरक्षण र अभिलेखीकरण समयको माग हो।
श्रद्धाञ्जलीभन्दा माथि उठ्नुपर्ने समय
हरेक वर्ष श्रावण १६ गते कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष हो। तर वर्षको एक दिन फूल चढाएर, भाषण गरेर वा औपचारिक कार्यक्रम सम्पन्न गरेर मात्र राष्ट्र विभूतिप्रतिको कर्तव्य पूरा हुँदैन।
अमरसिंह थापाको युगमा नेपालको आवश्यकता भूगोलको एकीकरण थियो। आजको आवश्यकता विकास, समृद्धि, संस्कृति, पर्यटन र सामाजिक सद्भावको एकीकरण हो। यही अभियानलाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको सबैभन्दा ठूलो/सम्मान श्रद्धाञ्जली हुनेछ।
पर्यटनको विशाल सम्भावना
सिरानचोक क्षेत्र आफैंमा ऐतिहासिक र धार्मिक सम्पदाले सम्पन्न भूमि हो। अमरसिंह पार्कलाई केन्द्रबिन्दु बनाएर भिमसेन थापा पार्क, श्रीनाथमण्डली, लिगलिगकोट, रम्तेल पार्क लगायतका ऐतिहासिक तथा धार्मिक गन्तव्यलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ। यी स्थानहरूलाई गुणस्तरीय सडक सञ्जाल, स्पष्ट सूचना बोर्ड, पदमार्ग, विश्रामस्थल, संग्रहालय, अनुसन्धान केन्द्र र डिजिटल प्रचारप्रसारसँग जोड्न सकियो भने सिरानचोक नेपालको महत्वपूर्ण ऐतिहासिक पर्यटन गन्तव्य बन्न सक्छ।
विशेषगरी, स्वीकृत DPR अनुसार अमरसिंह पार्कलाई योजनाबद्ध रूपमा निर्माण गर्न सकियो भने यसले केवल ऐतिहासिक पहिचानलाई मजबुत बनाउने मात्र होइन, स्थानीय युवालाई रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिका नयाँ अवसर पनि सिर्जना गर्नेछ।
नेपाली सेनाको सम्मान
नेपालको एकीकरण अभियानका महान् सेनापति तथा नेपाली सेनाका गौरवपूर्ण व्यक्तित्व अमरसिंह थापाको स्मृति दिवसमा नेपाली सेनाको औपचारिक सहभागिता र विशेष सलामी अर्पण गर्ने परम्पराको विकास गरिनु उपयुक्त हुनेछ। यसले नयाँ पुस्तामा राष्ट्रप्रेम, इतिहासप्रतिको सम्मान र राष्ट्रिय गौरवको भावना अझ सुदृढ बनाउन सहयोग पुग्नेछ।
निष्कर्ष
राष्ट्र विभूति अमरसिंह थापा इतिहासका पानामा सीमित पात्र होइनन्; उहाँ राष्ट्रिय स्वाभिमान, साहस, नेतृत्व र समर्पणका अनुपम प्रतीक हुनुहुन्छ। उहाँको जन्मभूमिको संरक्षण, इतिहासको अनुसन्धान, सांस्कृतिक सम्पदाको संवर्द्धन र पर्यटनको विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सकियो भने त्यो नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ।
आज श्रावण १६ को दिन हामी केवल उहाँलाई सम्झिने होइन, उहाँले देखाएको राष्ट्रिय एकता, साहस र कर्तव्यपरायणताको बाटोमा अघि बढ्ने सङ्कल्प गरौँ। जब इतिहासलाई विकाससँग, सम्पदालाई पर्यटनसँग र सम्मानलाई समृद्धिसँग जोड्न सकिन्छ, तब मात्र राष्ट्र विभूति अमरसिंह थापाप्रतिको हाम्रो श्रद्धा सार्थक हुनेछ।



