शहिदलखन,गाेरखा । शहिदलखन गाउँपालिकाकाे केन्द्र जाेड्नका लागि रामशाहघाट देखि घैरुङसम्मकाे सडक कालाेपत्रे हुने भएकाे छ । गोरखाका शहिदलखन, बारपाकसुलिकाेट,धार्चे चुमनुब्री गण्डकी गाउँपालिकाकाे स्थानीय तहको केन्द्र पक्की सडक सञ्जालसँग जाेडिएकाे छैन । वारपाक सुलिकोट र शहिद लखन गाऊँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रेको काम भइरहेकाे छ । प्रदेश केन्द्र देखि गाउँपालिका सम्मकाे भाग रामशाह घाटदेखि घैरुङ सम्म कालाेपत्रे गर्न आज सम्झाैता भएकाे शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

स्थानीय पूर्वाधार विभागले देशै भरका स्थानीय तहसम्मको सडकलाई पक्की गराउने काम गर्न लागेको विभागका सूचना अधिकारीले जानकारी दिए ।
प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत पालिकाको केन्द्रसम्मको सडकलाई पक्की बनाउन लागिएको हाे । त्यसका लागि विभागले सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिसकेको छ ।
गण्डकी प्रदेशको पोखरामा स्थापना भएको कार्यालयले पक्की सडक नपुगेका स्थानीय तहको केन्द्रको विवरण विभागमा पठाइसकेको र गण्डकी प्रदेशका सबै स्थानीय तहको केन्द्र जोड्ने गरि करीव २ सय ७९ किलोमिटर सडक पक्की बनाउने काम अघि बढेकाे हाे ।

प्रदेश सरकार र स्थानीय तहसँगको लागत साझेदारीमा काम गर्ने योजना रहेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । जसमा प्रदेशको १० प्रतिशत र स्थानीय तहले पनि आफ्नो भुगोलभित्र पर्ने सडकको लम्बाईको आधारमा १५ देखि २५ प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने विभागका सूचना अधिकारी हाेमनाथ पौडेलले बताए ।
शहिदलखन गाउँपालिकाकाे रामशाहघाट, ढाँडबारी, मनकामना, जुम्ली चाैतारा, तीनमाने हुँदै घैरुङसम्म सडक कालाेपत्रे गर्न प्रदेश कार्यलयमा सम्झाेता भएकाे शहिदलखनका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेमगरले बताए । गाेरखा सदरमुकामदेखि नामजुङ सम्मकाे भाग कालाेपत्रे गर्ने कार्य भइरहेकाे छ । घैरुङ देखि रामशाहघाट सम्म पनि कालाेपत्रे भएपछि गाउँ गाउँपालिका केन्द्र सम्म पुग्न सबै नागरिकहरुका लागि सहज हुने गाउँपालिकाले जनाएकाे छ ।






