भदाै, २६ आँबुखैरेनी । प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा काव्योत्सव गरिएको छ । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते कार्यक्रम भएकाे हो ।
आँबुखैरेनी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम भएकाे हो । सत्रसय फाँटदेखी १५ मिनेटको सवारी यात्रामा पुगिने आदिमुलमा प्रसिद्ध आदिमुल बराही मन्दिर छ ।
वाङ्मयले मुलुकका विभिन्न ठाउँबाट आएका स्रस्टालाई उत्सवको दोस्रो दिन आँधिमुलमा लगेर कार्यक्रम गरेको हो । कार्यक्रममा कविता वाचन सँगै स्थानीय सांस्कृतिक नाच देखाइएको थियो ।
चितवनबाट आएका स्रस्टाहरू खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी र मोदनाथ मरहट्ठाले पनि रचना प्रस्तुत गरेका थिए । दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले आफ्नो पालिकामा मुलुकका विभिन्न जिल्लाका स्रस्टाहरू ल्याएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए ।
यो किसिमका कार्यक्रम आयोजना गरिँदा स्थानीय तहका प्रसिद्ध स्थानहरूको प्रचारप्रसार भै पर्यटनको विकासमा सहयोग पुग्ने प्रमुखले बताए । सोही समारोहमा आँदिमुलको छेवैमा बसेर मनोज तामाङ र राजेन्द्र सुवेदीले क्यानभासमा चित्र कोरेका थिए । चित्रमा प्राकृतिक चित्रण गरिएको थियो । पहिलो दिन आँबुखैरेनी बजारमा भएको कार्यक्रममा कवि खुमनारायण पौडेल सम्मानित भएका छन् ।
आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको हो । उक्त समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।
तीसको दशकदेखि कवितामा आफ्नो अलग पहिचान र विशिष्टता हासिल गरेका र विभिन्न साहित्यिक कृति र पत्रिकाहरूको सम्पादन, प्रकाशनमार्फत निरन्तर साहित्यिक सेवाको योगदानको मूल्यांकन गर्दै कवि पौडेललाई सम्मान गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
सम्मानित पौडेल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । पौडेलका अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६) र शीतनिद्रा (२०७३)लगायतका कृति प्रकाशित छन् । सोही समारोहमा इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कारबाट कलाकार सुभास गजुरेल, कृष्णदास – चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट विद्या चापागाईं र महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कारबाट मञ्जु थापा र सुलना गुरुङलाई सम्मान गरिएको थियो ।