सम्पदा वस्ती निर्माण सम्बन्धी भक्तपुर नगरपालिकामा छलफल तथा अवलोकन

बिहिबार, जेष्ठ ७, २०८३
0
19

७ जेठ, काठमाण्डौ । गोरखामा सम्पदा वस्ती निर्माणका बारेमा आज भक्तपुर नगरपालिकामा छलफलसँगै अवलोकान भएको छ । गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरको नेतृत्वमा गएको टोलीले आज भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति उपमेयर रजनी जोशी लगायत भक्तपुरका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गरेको हो ।
नगर प्रमुख प्रजातिले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन अवलोकनका लागि भक्तपुर आउनुभएका प्रमुख रानामगरसहितको टोलीलाई खादा तथा भादगाउँले टोपीद्वारा स्वागत गर्नु भएको थियो । उक्त भेटमा दुई नगर प्रमुखबीच दुवै नगरपालिकाबीच सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृति संरक्षण आदि विषयमा अनुभव आदानप्रदान भएको थियो ।


भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, स्थानीय विकास, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, सरसफाइ क्षेत्रमा गरिरहेको कामहरुबारे अवगत गराउनुभयो ।
सम्पदा क्षेत्र घोषणा गर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको बताउँदै उहाँले परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न प्रोत्साहन गर्ने उद्देश्यले भक्तपुर नपाले नपाको मापदण्डअनुसार घर बनाउने घरधनीहरुलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
विशेषगरी परम्परागत इँटा, काठको झ्याल ढोका, झिंगटी तथा मौलिक शैली प्रयोग गरी निर्माण गरिएका घरहरुले ऐतिहासिक बस्तीको सौन्दर्य संरक्षणमा योगदान पुर्‍याउने भएकोले नगरपालिकाले नागरिकलाई यसतर्फ आकर्षित गर्न अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
यससँगै नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक ऋण प्रदान गर्दै आएको उल्लेख गर्दै युवा तथा महिला लक्षित सीपमूलक तालिम सञ्चालन गरी नगरबासीहरुलाई स्वरोजगार बनाउने प्रयत्न गर्दै आएको बताउनुभयो । प्रत्येक घरमा स्नातक गर्ने सदस्य उत्पादन गर्ने उदेश्यले शिक्षामा लगानी गरिएको मेयर प्रजापतिले बताउनुभयो ।

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नगरपालिकाले सहुलियत व्याजदरमा ऋण लगानी गरेको बताउनुभयो । त्यस्तो ऋण लगानी १७ करोड ५० लाख रहेको प्रजापतिको भनाई छ । १६ महिनाको बालबालिकालाई शिशु स्याहारमा राख्ने २वर्ष ६ महिना भएपछि बालविकासमा राखेर सिकाउने गरिएको छ । हाल एउटै विद्यालयमा ३९०० विद्यार्थीहरु कक्षा ११ मा अध्ययनरत रहेका छन् ।

नेपालमा शैक्षिक ऋण दिने पहिलो नगरपालिका भक्तपुर नगरपालिका रहेको प्रजापतिले बताउनुभयो । एमफिल तथा पिएचडी गर्ने विद्यार्थीका लागि पूर्ण छात्रवृति प्रदान गरिएको छ । कर्मचारी, शिक्षकले शोध अनुसन्धान तथा एमफिल पिएचडी गर्न चाहेमा उनीहरुका लागि समेत विदा तथा आर्थिक प्रोत्साहन गरिएको मेयर प्रजापतिले बताउनुभयो ।नगरका प्रत्येक घरमा स्नातकोत्तर तह उतीर्ण जनशक्ति रहेको उहाँको भनाई छ ।

स्वास्थ्य तर्फ वीस मिनेट भित्र नगरका सबै वडामा स्वास्थ्य सेवा सँधै सबै समय उपलब्ध रहेको बताउनुभयो । नगरपालिकाले आफ्‌नै लगानीमा १०० शैयाको अस्पताल खोलेर २७५ जना डाक्टर, कर्मचारी व्यवस्थापन गरि नागरिहरुलाई सेवा प्रदान गरेको छ । अस्पतालमा दैनिक एक हजार तीनसयको सँख्यामा विरामीहरुले सेवा लिने गरेका छन् । विमा वापतको रकम सरकारबाट प्राप्त गर्न ४० करोड भन्दा बढी रहेको तर अस्पतालबाट विमा मार्फत दिने सेवा भने निरन्तर रहेको मेयर प्रजापतिले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाका नागरिकहरुले अक्सिजन र रगत किन्नु पर्दैन, सबै निशुल्क दिने गरेका छौँ मेयर प्रजापतिले भन्नुभयो । शिक्षा र स्वास्थ्यमा लगानी गरेका कारण नगरका ६० प्रतिशत समस्या समाधान भएको प्रमुखको भनाई छ । शैक्षिक उपाधी सँगै नगरभित्रका सबै युवाहरुलाई रोजगारमुलक सीप तालिम प्रदान गर्ने गरिएको छ ।

पर्यटन शुल्क वापत वार्षिक अनुमानित ३० करोड आम्दानी हुने गरेको छ । आन्तरिक पर्यटक वृद्धि गर्नका लागि नगरपालिकाको सम्पदा क्षेत्र घोषणा गरेको छ । सम्पदा क्षेत्रमा घर आवास कार्यक्रमहरु सञ्चालन गरेको छ । यहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् । यसले पर्यटकको वसाईलाई लामो बनाएको छ । भक्तपुर नगरपालिकामा आधुनिक घर बनाउन पाइदैन । काठ, बुटा, झिगटी प्रयोग गरेर बनाउनुपर्दछ । त्यसका लागि नगरपालिकाले तीन लाख अनुदान प्रदान गर्ने गरेको छ । यहाँ रहेका १२ सय वर्ष पुराना ताल, मठ मन्दिर लगायत पुरातात्विक महत्वका सँरचनाहरुको सँरक्षण गरिएको छ । नेपाल सरकारको पुरातत्व विभागले गर्न नसकेको काम भक्तपुर नगपालिकाले गरेको छ । भुकम्पले भत्काएका मल्लकालिन सँरचनाहरु भक्तपुर नगरपालिकाको जनशक्तिले जस्ताको तस्तै खडा गरेको छ । मौलिकता जोगाउनमा केन्द्र र प्रदेश सरकारसँग निरन्तर सँघर्ष गर्नुपरेको मेयर प्रजापतिले बताउनुभयो ।

कुहिने फोहोरको मल निर्माण गरिएको छ । प्रति केजी विस रुपैयाँमा विक्री गरिने मल किसानहरुका लागि १० रुपैयाँमा दिने गरिएको छ । नकुहिने फोहोर प्रतिकेजी ४ रुपैयाँमा विक्री गर्ने गरिएको छ । यस वापत नगरपालिकालाई मासिक रुपमा चार लाख भन्दा माथि आम्दानी हुने गरेको छ । सरसफाइका लागि १५० कर्मचारी नगरक्षेत्रमा खटिएका छन् ।

भेटमा गोरखाका मेयर रानामगरले गोरखाको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई संरक्षण गर्ने उद्देश्यले गोरखालाई सम्पदा बस्ती घोषणा तथा संरक्षणको लागि आवश्यक कार्यविधि निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले गोरखाको परम्परागत बस्ती, मौलिक वास्तुकला, मठमन्दिर, ऐतिहासिक संरचना आदिको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनको सिलसिलामा कार्यविधि तयार गर्न लागिएको बताउँदै कार्यविधि तयार गर्न भक्तपुर नगरपालिकाको आवश्यक साथ, सहयोग तथा समन्वयको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सांस्कृतिक पहिचान जोगाउन गरेको कार्य उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले गोरखामा पनि यस्ता अभ्यासलाई अघि बढाइने बताउनुभयो ।

उपप्रमुख थोकरले स्थानीय मौलिकता जोगाउँदै विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै भक्तपुरले अपनाउँदै आएको सम्पदामैत्री विकास, परम्परागत शैलीमा घर निर्माणमा अनुदान तथा संस्कृति संरक्षणका अभ्यासहरु गोरखाका लागि पनि उपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रजापतिले प्रमुख रानामगरलाई मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो । गोरखा नपाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, इन्जिनियर प्रकाश ढकाल, लेखा अधिकृत सन्तोष लामिछाने, प्रशासकीय अधिकृत विजय उपाध्याय, संस्कृतिविद डाक्टर राजुबाबु श्रेष्ठ, भाष्कर श्रेष्ठ, किशोरजंग थापा लगायतको उपस्थिति रहेको थियो ।

संस्कृतिविद डाक्टर राजुबाबु श्रेष्ठले भक्तपुर नगरपालिका र गोरखा नगरपालिका विच मित्र साइनो रहेको र सम्पदा जोगाउनुपर्ने दायित्व समेत रहेको हुँदा भगिनी सम्बन्ध स्थापना गरेर मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि र ख्वप अस्पताल अवलोकन गरेका थिए ।
अवलोकन पछि मेयर कृष्ण बहादुर राना मगरले समाजवादको असली अभ्यास हेर्न भक्तपुर आउनुपर्ने बताउनुभयो । हामीले कल्पना गरेको राज्य यही हो, यहाँ भएका यस्ता जनमुखि कामहरुको सबैलाई जानकारी दिनुपर्दछ । भक्तपुरबाट अन्य पालिकाहरुले असल पाठ सिक्न ढिला गर्न नहुने मेयर रानाले बताउनुभयो ।

मेयर राना मगरले नगरप्रमुख प्रजापति उपप्रमुख जोशी, प्रशासकीय अधिकृतलाई गोरखा भ्रमण वर्षका प्रकाशन तथा मायाको चिनो प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here