धार्चेमा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण, सबै नागरिकलाई कार्यक्रममा जोड्ने लक्ष्य

मङ्लबार, असार ९, २०८३
0
2

गाेरखा । धार्चे गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हाल गाउँपालिकाका करिब २० प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेकाले सबै नागरिकलाई कार्यक्रममा समेट्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अमृतबहादुर घलेका अनुसार धार्चे गाउँपालिकाको आयोजनामा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको समन्वय तथा स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय गोरखाको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार १४ हजार २६३ जनसंख्या रहेको गाउँपालिकामा हाल दुई हजार ९५६ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन्। तीमध्ये एक हजार ७२१ महिला र एक हजार २३४ पुरुष रहेका छन्।

घलेका अनुसार अधिकांश वडामा बिमा दर्ता सहयोगी सक्रिय नहुँदा धेरै नागरिक स्वास्थ्य बिमाको पहुँचबाट बाहिर रहेका छन्। हाल वडा नम्बर २ केरौँजा, वडा नम्बर ५ गुम्दा र वडा नम्बर ७ लापुवेशीमा मात्र दर्ता सहयोगी कार्यरत छन्। अब सबै वडामा दर्ता सहयोगी नियुक्त गरी स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको सहभागिता बढाइने योजना गाउँपालिकाले बनाएको छ।

अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष, बिमा दर्ता सहयोगी तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य बिमाको महत्व र प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी गराइएको थियो। साथै, गाउँपालिकाभित्रै आधारभूत तथा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत छलफल भएको स्वास्थ्य शाखाले जनाएको छ।

धार्चे आधारभूत अस्पताललाई स्वास्थ्य बिमा सेवा बिन्दुका रूपमा विकास गर्ने पहलसमेत भइरहेको बताइएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत, स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय गोरखाका प्रमुख रमेश घिमिरेलगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here