नगर स्तरीय आधारभूत अस्पताल उद्घाटन सम्पन्न

बुधबार, असार १०, २०८३
0
8

गाेरखा । पालुङटार नगरपालिका–६ स्थित गाईखुर स्वास्थ्य चौकी, भोटेकोटमा नगर स्तरीय आधारभूत अस्पतालको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पालुङटार नगरपालिकाको आयोजनामा मिति २०८३ असार १ गते सम्पन्न उक्त कार्यक्रमले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यलाई थप सशक्त बनाएको छ।
वडा नं. ६ का अध्यक्ष चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगर उपप्रमुख बन्दना पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुका साथै शिक्षा शाखा प्रमुख उपसचिव मनोज नेपाली सिर्मल, पालुङटार नगरपालिकाका वडा नं. १ देखि १० सम्मका वडाध्यक्षहरू,जग्गा दाता , विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख विवस चिन्तनले स्थानीय तहको प्रमुख दायित्व नागरिकलाई आधारभूत सेवा प्रदान गर्नु रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले अस्पताल सञ्चालनसँगै नगरवासीले निःशुल्क तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

विशेष अतिथि उपप्रमुख बन्दना पाण्डेले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अस्पतालको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका अध्यक्ष चेत बहादुर गुरुङले वडा तथा नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा अस्पताल उद्घाटनलाई लिँदै यसले स्थानीय नागरिकको स्वास्थ्य पहुँचमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटनसँगै नगर स्तरीय आधारभूत अस्पताल मार्फत स्थानीय नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य औपचारिक रूपमा प्रारम्भ भएको छ। यसबाट विशेष गरी दुर्गम क्षेत्रका नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here