पालुङटार नगरपालिकाको १३औँ नगरसभा सम्पन्न २०८३/८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित, सुशासन र विकासलाई उच्च प्राथमिकता

-


     मनासलु     
     असार २२ गते २०८३ मा प्रकाशित


असार, गाेरखा । पालुङटार नगरपालिकाको १३औँ नगरसभा नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गर्दै आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता तय गरेको छ।

नगरसभाले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र कानुनी रूपमा व्यवस्थित बनाउन आवश्यक विभिन्न विधेयकहरू पनि पारित गरेको जनाएको छ। सभाबाट गत आर्थिक वर्ष २०८१/८२ को यथार्थ आय–व्यय विवरण, चालु आर्थिक वर्ष २०८२/८३ को संशोधित आय–व्यय अनुमान तथा आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्यय अनुमानसँगै मध्यमकालीन खर्च संरचना समेत अनुमोदन गरेकाे छ।

नगरपालिकाले स्वीकृत नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना, लागत अनुमान, ठेक्का व्यवस्थापन प्रक्रिया तथा उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधिलाई पनि पारित गरेको छ। चालु आर्थिक वर्षमा विभिन्न कारणले सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमलाई आवश्यकताअनुसार आगामी आर्थिक वर्षमा निरन्तरता दिने निर्णय समेत नगरसभाले गरेको छ। यसबाट अधुरा विकास आयोजना सम्पन्न गरी नागरिकलाई अपेक्षित सेवा तथा पूर्वाधार उपलब्ध गराउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

नगरसभाले कर्मचारी व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै करार सेवामा कार्यरत कर्मचारीहरूको आवश्यकता र कार्यसम्पादनका आधारमा करार अवधि थप गर्ने निर्णय गरेको छ। साथै कर्मचारीहरूको तलब प्रतिवेदन स्वीकृत गर्दै नेपाल सरकारको निर्णयअनुसार तलब समायोजन लागू गर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार प्रदान गरी कार्यसम्पादनमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने नीति समेत स्वीकृत गरिएको छ।

विकास निर्माणका काममा गुणस्तर सुनिश्चित गर्न नगरस्तरीय तथा वडास्तरीय अनुगमन समिति गठन गर्ने निर्णय भएको छ। सडक, भवन, सिँचाइ, व्यायामशाला, सडकबत्ती लगायतका पूर्वाधार आयोजनाको नियमित अनुगमन तथा गुणस्तर परीक्षण (ल्याब टेस्ट) अनिवार्य रूपमा गर्ने व्यवस्था लागू गरिने भएको छ। नगरपालिकाले निर्माणाधीन तथा सम्पन्न आयोजनाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ।

सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरसभाले प्लास्टिक झोलाको प्रयोग नियन्त्रण गर्ने, कार्यालय सञ्चालनमा कार्यसम्पादन सम्झौता प्रणाली लागू गर्ने, दण्ड–प्रोत्साहन प्रणाली कार्यान्वयन गर्ने, बेरुजु फर्छ्योटलाई उच्च प्राथमिकता दिने, सार्वजनिक भवनहरूको बीमा गर्ने तथा भवन निर्माणलाई राष्ट्रिय भवन संहिता र मापदण्डअनुसार कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ। यी निर्णयले स्थानीय सरकारलाई थप उत्तरदायी, जवाफदेही र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

नगरसभाबाट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वन तथा वातावरण लगायत विभिन्न विषयगत समितिहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (LISA) मा पालुङटार नगरपालिकाले प्राप्त गरेको ६७.७५ प्रतिशत अंक लाई नगरसभाले अनुमोदन गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व र विकास निर्माणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नगर प्रमुख विवश चिन्तनले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरे। उनले पालुङटार नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा सम्पूर्ण नगरवासीबीच आपसी सहकार्य र साझेदारी अपरिहार्य रहेको बताए।

उनले विकास निर्माणका कार्यमा पारदर्शिता, उत्तरदायित्व र जनसहभागितालाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा वातावरण संरक्षणलाई आगामी वर्षको प्रमुख कार्यसूचीका रूपमा अघि बढाउने जानकारी दिए।

यसैबीच नगरसभामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक जित्ने पालुङटार नगरपालिकाका खेलाडीहरूलाई सम्मान गरिएको छ। स्वर्ण पदक विजेतालाई प्रति पदक रु. ७ हजार, रजत पदक विजेतालाई रु. ६ हजार तथा कांस्य पदक विजेतालाई रु. ५ हजार का दरले नगद पुरस्कारसहित सम्मान गरिएको हो। नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

नगरसभामा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सभाले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समृद्ध, सुशासित र नागरिकमैत्री पालुङटार निर्माण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यसूची सम्पन्न गरेको छ।