उत्तरी गोरखाकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

- २३ वर्षीया एलिसा लामाको उद्धार

-


     गाेरखा सन्देश    
     भाद्र २८ गते २०८३ मा प्रकाशित


गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुमचेतकी एक गर्भवती महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ।

चार दिनदेखि उच्च ज्वरो आउने, घाँटी तथा टाउको दुख्ने, शरीर सुन्निने र वान्ता हुने समस्या देखिएपछि २३ वर्षीया एलिसा लामाको उद्धार गरिएको हो।

लामा पाँच महिनाकी गर्भवतीसमेत रहेकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी काठमाडौं पठाइएको चुमचेत स्वास्थ्यचौकीका अहेव खुमबहादुर मल्लले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत लामालाई काठमाडौं लगिएको हो।

स्वास्थ्यचौकीका अहेव मल्लले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम उनको उद्धार गरिएको बताउनुभयो।

कार्यविधिअनुसार जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परे हवाई उद्धार गरी थप उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजाने व्यवस्था रहेको छ।